कांग्रेसको बैठान, डेढ महिनामा महाधिवेशन गर्न सक्ने ?
काठमाडौं । महाधिवेशन चुनावअघि वा पछि भन्नेमा डेढ महिनादेखि अल्झिरहेको नेपाली कांग्रेस महाधिवेशनको मिति तोक्दै चर्किएको विवादलाई सकसपूर्ण रूपमा बैठान गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सम्बन्धी प्रस्तावलाई सोमबार बसेको केन्द्रीय समितिले सर्वसम्मत् पारित गरेको छ ।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्कनुअघि चुनावअघि महाधिवेशन गर्नै नहुने अडान राख्ने नेताहरू समेत अन्तत: नियमितको पक्षमा उभिएका छन् ।
कांग्रेस पदाधिकारी बैठक, केन्द्रीय समिति बैठक एवं केन्द्रीय समिति रोकेर भइरहेका शीर्ष नेताको बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न सकिने विकल्पसहित प्रस्ताव राख्दा देउवा पक्षका नेताहरू तयार भएका थिएनन् ।
