अघिअघि बालेन, पछिपछि हात हल्लाउँदै डुब्लिकेट ।
काठमाडौँ । गत मंगलबार कैलालीको लम्कीमा ‘राजकीय सवारी’ को शैलीमा एकसाथ थुप्रै गाडीहरू हुइँकिएर आए । प्रतिनिधिसभा सदस्यमा उठेका एक बहुचर्चित उम्मेदवारलाई प्रहरीले अगुवा र पछुवा गाडीसहित स्कर्टिङ गरेर ल्याइरहेको थियो ।
बालेन चढेको गाडीभन्दा ३-४ वटा गाडीपछाडि एउटा कारको रुफटपबाट आधा जिउ निकालेर बालेनजस्तै अर्का व्यक्ति देखा परे । उनी एउटा हातले घन्टी बजाउँदै समर्थहरूलाई हात हल्लाइरहेका थिए । अनुहारमा दारी, कालो टोपी र पहिरनले उनी बालेन होइनन् भनेर कसैले भन्न सक्दैनथे । भर्खर बालेनको गाडि अगाडि लागेको देखेका समर्थकहरू अर्का ‘बालेन’ हात हल्लाउँदै आएपछि अल्मलिए । यो दृष्य भिडिओमा समेत कैद भएको छ र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आखिर उनी को थिए त ? बालेनले नै उनलाई लगेका हुन् कि उनी आफूखुशी बालेनको पछि लागेका हुन् । यी जिज्ञासाहरू जनमानसमा छन् ।
बालेनको जस्तै भेषमा हिँडेका यी युवा हुन् कैलाली टीकापुरकै गोपाल कोइराला । उनको टीकापुरमा फेन्सी पसल छ । उनी आफूलाई बालेनको फ्यान भन्ने गर्छन् । बालेनकै जस्तो दारी-कपाल बनाएका छन् । बालेन रास्वपामा आएपछि आफूले पनि सदस्यता लिएको उनले बताए ।
