गगनले खोजे देउवाको साथ, आत्मालोचनासहित चुनावमा होमिन आह्वान ।

Untitled-1-189

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जिल्ला सभापतिहरूलाई परिपत्र पठाउँदै निवर्तमान सभापति शेरबहादुर देउवाको साथ खोजेका छन्। महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले ७७ वटै जिल्ला सभापतिहरुलाई परिपत्र पठाउँदै देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहेका शीर्ष नेताहरूको साथ खोजेका हुन्।

विशेष महाधिवेशनबारे जानकारी गराउँदै परिपत्रमा भनिएको छ, ‘यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन कुनै, अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ। विश्वास र भरोसा राखौँ, अब कांग्रेस नवीन उर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ।’

परिपत्रमा भनिएको छ, ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई आगडि बढाउन पार्टीका श्रद्धेय निवर्तमान सभापति शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ।’

नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गर्दै समीक्षा गरेको भन्दै आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ जना उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना उम्मेदवारहरूको घोषणा गरी निर्वाचनमा पार्टी जुटिसकेको जनाइएको छ।

Share via
Copy link