रास्वपाको टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको आरोप ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भएर पार्टीमा आवद्ध भएकी थिएँ । तर फागुन २१ गतेको निर्वाचनमा पार्टीले अवलम्बन गरेको पदति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरित भएको पाएँ ।’
उनले रास्वपामा दिनरात खटिएका क्षमतवान सदस्यहरुको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको आरोप लगाएकी छन् ।
रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकाले यस्तोमा साक्षी बसेर मौन रहिरहन नसकेको भन्दै राजीनामा दिएको बताएकी छन् ।
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको पाएपछि आत्मसम्मान र राजनीतिक मूल्यमाति नै आँच आउने परिस्थिति बन्यो,’ उनले भनेकी छन्, ‘यी सबै क्रियाकलापहरुको साक्षी बसेर मौन रहिरहन असमर्थ भएकाले राजीनामा दिएकी छु ।’
उनी बाराकी हुन् । पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा रवि लामिछानेले पैसामा टिकट अर्कैलाई बाँडेपछि उनी असन्तुष्ट भएको पाइएको छ ।
