गुल्मीमा रास्वपाका नेता सागर ढकाल संग एमाले–कांग्रेसका हेभिवेट ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा नेकपा एमाले र नेपाली कांग्रेसका हेभिवेट नेताहरुसँग चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरु प्रतिस्पर्धाका लागि पुगेका छन् । उम्मेदवार छान्ने दुई दिन अघिसम्म ती क्षेत्रमा खासै चर्चामा नरहेका नाम रास्वपाबाट उम्मेदवार बनेपछि यसअघि लामो समय यो क्षेत्रको भूगोलमा बलियो रहेको एमाले र कांग्रेसका नेतालाई सामाजिक सन्जालमार्फत अझै बढी दबाब बढेको छ ।
नेकपा एमालेको केन्द्रीय राजनीतिमा बलियो उपस्थिति बनाएका नेताहरु क्षेत्र नं २ मा उपाध्यक्ष गोकर्ण विष्ट र क्षेत्र नं १ मा पूर्वउपमहासचिव तथा अहिलेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली मैदानमा छन् । पटकपटक पार्टीको पदाधिकारी, सांसद मन्त्री भएका उनीहरुसँग पहिलोपटक भूगोलमा समेत कम प्रभाव रहेका तर सामाजिक सन्जालमा चर्चामा रहेका उम्मेदवारहरु क्षेत्र नं २ मा पूर्वडिएसपी गोविन्द पन्थी तथा क्षेत्र नं १ मा ई सागर ढकाल उम्मेदवार बनेका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट क्षेत्र नं १ मा प्रभावशाली केन्द्रीय नेता चन्द्र भण्डारी र क्षेत्र नं २ मा पार्टीको प्रदेश उपसभापति रहेका भुवन श्रेष्ठ उम्मेदवार छन् ।
जिल्लामा निर्वाचनका लागि २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार २३ थपिएर ४३ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर–१ मा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार २१ जनाले मनोनयन दर्ता गराएका छन् । ११ स्वतन्त्र उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेका प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल छन् । क्षेत्र नम्बर–२ मा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार २२ जनाले मनोनयन दर्ता गराएका छन् । १२ स्वतन्त्र उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेका गोकर्णराज विष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोबिन्द पन्थी छन् ।
